सहिद दिवसको सम्झनामा
लक्ष्मण प्रसाद खतिवडा
दोलखा
सहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठी देश र जनताको भलाईका लागि काम गर्ने र आवश्यक परे आफ्नो ज्यानको कुनै पर्वाह नगरी बलिदानी दिने व्यक्तिलाई बुझिन्छ । नेपाली शब्दकोषले आफ्नो देश, संस्कृति अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका लागि बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई सहिद मानेको छ भने नेपाली विकिपिडियामा व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाईका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्तिलाई सहिद भनी परिभाषित गरिएको देखिन्छ । हुनपनि समाजमा भएको अन्याय,अत्याचार, शोषण , दमन, असमानता, परतन्त्रता र उत्पीडनका विरुद्ध आफ्नो प्राणको आहुती दिने अनि आफ्ना भावी सन्ततीका सुखका लागि प्राणत्याग गर्ने वीरहरु नै सहिद हुन् ।
नेपालमा वि.सं. १९०३ असोज २ गतेदेखि २००७ फागुन ७ गतेसम्म रहेको एकतन्त्रीय जहानिया राणाशासनका विरुद्ध लडी वीरगति प्राप्त गर्दे लखन थापा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा , शुक्रराज शास्त्री हुन् । त्यस्तै वि.सं. २०१७ पौष १ गतेदेखि वि.सं. २०४६ चैत्र २६ गतेसम्म एकदलीय तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध लडेर वीरगति प्राप्त गर्नेै दुर्गानन्द झा, रामनाथ दाहाल लगायत अनि वि.सं. २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सरिक भै गणतन्त्र प्राप्तिको लागि आत्मोत्सर्ग गर्ने वीर सहिदहरु भीमसेन दहाल, उमेशचन्द्र थापा, दर्शनलाल यादव, हरिराज अधिकारीको भूमिका अवर्णनीय छ । मुलुकको स्वतन्त्रता र रक्षाका लागि जीवन अर्पण गर्ने तिनै वीर सहिदहरुका कारण हामीले स्वतन्त्र रुपमा जीवनयापन गर्न पाएको तथ्य हामीमाझ घाम झै छर्लङ्ग छ ।
“देशले रगत मागे मलाई बली चढाऊ” भन्ने भावना अनुरुप आफ्नो जीवन समर्पण गरी देशलाई निरङ्कुश तानाशाहका जञ्जिरबाट मुक्त गराई देशलाई सुन्दर, शान्त अनि विशाल बनाउन सहिदले खेलेको भूमिका अविस्मरणीय छ । त्यसैले उनीहरुको विचार र भावनाको कदर गर्दै उनीहरुले देखाएको बाटोमा हिडी देशलाई विकाशको प्रगतिपथमा लम्काउन जरुरी छ । अन्यथा उनीहरुको त्याग, तपस्या र बलिदान त्यतिकै खेर जानेछ ।
कुनै पनि व्यक्ति चाहेर सहिद बन्दैन, न त रहरले नै सहिद बनाउंदछ । मातृभूमिको आवश्यकता, युगीन परिवर्तन अनि समयको माग बमोजिम राष्ट्र बनाउन बलिदान दिने व्यक्ति मात्र सहिद बन्दछ । जसले आफ्नो जीवनलाई राष्ट्रहितको लागि अर्पण गर्छ ऊ नै सदा सम्मानयोग्य बन्दछ, अमर बन्दछ । व्यक्तिगत स्वार्थ एवं पारिवारिक स्वार्थलाई तिलाञ्जली दिई राष्ट्रिय स्वार्थमा आफ्नो शरीरलाई समर्पण गर्ने व्यक्ति सहिद हुने हुनाले ऊ देश वा जनताको आफ्नो बन्न पुग्दछ । जो व्यक्ति निजी स्वार्थमा रुमलिन्छ ऊ ज्यूंदो मरेको तुल्य हुन्छ ।
नेपालको इतिहासमा धेरै व्यक्तिहरुले आफ्नो जीवनलाई राष्ट्रहितमा अर्पण गरी राष्ट्रलाई अग्रगतिमा लम्काई, सम्मानयोग्य बन्न पुगेका छन् । तिनै देश र जनताको हितको लागि आफ्नो प्राणको आहुति दिने विर सहिदहरुको सम्झना एवं सम्मानमा विगत झैं यसवर्ष पनि सप्ताहव्यापी कार्यक्रमहरु सञ्चालन भए । उनीहरुकै बलिदानको गाथा गाइदै उनीहरुकै स्मरणमा सहिद दिवस मनाइयो । तापनि विभिन्न खालमा घटनामा मरेका व्यक्तिहरुलाई राजनीतिकरण गर्दै सहिद घोषणा गर्ने र सहिद घोषणा गर्न माग गर्ने प्रवृति बढेको गुनासा सुनिनाले वास्तविक र सच्चा सहिदप्रति अपमान गरेको छ, अवमूल्यन गरेको छ । अतः वीर सहिदहरुले देशप्रति गरेको आत्मोत्सर्गलाई स्वीकारी वास्तविक सहिदहरुप्रति सम्मान गर्दै सहिद दिवसका दिन सहिदका तस्विरमा माला लगाई गुणगानमा मात्र सिमित नराखी उनीहरुले देखाएको बाटोमा सदा सर्वदा हिड्नुपर्छ । अनि सहिदहरुको आंशु र रगतले सिर्जित यस देशको अस्तित्वलाई रक्षा गर्न हामी सबै देशवाशी लाग्नुपर्छ ।
व्यक्तिगत स्वार्थ र पारिवारिक स्वार्थभन्दा माथि राष्ट्रको हितको खातिर जीवन अर्पण गर्ने महान सहिदहरुलाई सम्मान गर्न प्रत्येक देशवासीले व्यक्तिगत स्वार्थभन्दा माथि उठी सुनौलो राष्ट्र निर्माणको महायज्ञमा एक भएर जुट्न आवश्यक छ । प्रत्येक व्यक्तिको मनमा देशप्रतिको श्रद्धा र सम्मान भएमात्र सहिदप्रति सम्मान हुने वास्तविकतालाई स्वीकारी राष्ट्रको समुन्नति र समृद्धिको लागि सबै लाग्नुपर्छ । सहिदको परिभाषालाई लत्याउंदै आफूखुशी तरिकाले सहिद घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्दै सहिद जस्तो उच्च सम्मानित र मर्यादित पदलाई सम्मानित र मर्यादित नै बनाइराख्न यस वर्षको सहिद दिवसले बुद्धि प्रदान ग¥यो भन्ने कामना सहित ......।
समाप्त